डडेल्धुराः डडेल्धुरा जिल्ला क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप जोरा र सुदूरपश्चिमका क्रिकेटर सन्तोष भट्टलाई सम्मान गरेको छ।
शनिबार प्रथम दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटरद्वय जोरा र भट्टलाई सम्मान गरेका हुन्।
डडेल्धुरामा जन्मिएर नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गरेकाले उनीहरूलाई दोसल्लासहित सम्मान पत्रले सम्मान गरेको डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेतीले जानकारी दिए।
जोराको पूर्खेयौली घर डडेल्धुराको भागेश्वर गाउँपालिका हो। क्रिकेट खेल्न उनले कञ्चनपुरबाट सुरु गरेका थिए। उनले जिल्लास्तरीय र क्षेत्रीय प्रतियोगिता हुँदै यू–१९ र राष्ट्रिय टोलीमा आफूलाई प्रमाणित गरिसकेका छन्।
जोराले डेब्यु खेलमा अर्धशतक बनाउने विश्वकै सर्वाधिक कान्छा पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए। उनले युएईबिरुद्ध १७ वर्ष १०३ दिनमा डेब्यु गर्दै अर्धशतक बनाएका थिए।