डडेल्धुराः आलिताल गाउँपालिका डडेल्धुरामा जारी दिजगंगा मेमोरियल जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। मंगलबार भएको दोस्रो सेमिफाइनलमा अजयमेरु गाउँपालिकालाई ४७ रनले हराउँदै फाइनलमा पुगेको छ।
आलितालले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको अजयमेरुले १४.५ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आलितालले निर्धारित १५ ओरभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो।
आलितालले अब उपाधिका लागि बुधबार परशुराम नगरपालिकासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा भागेश्वर गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै परशुराम फाइनलमा पुगिसकेको छ।
भागेश्वरले दिएको १ सय ३ रनको लक्ष्य परशुरामले १३.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भागेश्वरले १५ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनाएको थियो।
डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा भइरहेको छ। प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ।