Radio Unity 92.2MHz

दलीय उम्मेदवारको प्रचारमा आचारसंहिता विपरीत अमरगढीका जनप्रतिनिधिहरू

डडेल्धुराः निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तथा मत माग्न नपाइने भनेर आचारसंहिता जारी गरेपनि अमरगढी नगरपालिकाका जनप्रतिनिधिहरूले खुलेआम मत मागिरहेका छन्।

नेपाली काँग्रेसबाट अमरगढी नगरपालिकामा निर्वाचित नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वतीदेवी झुकाल र अमरगढी नगरपालिका–५ का वडाअध्यक्ष टंक क्षेत्रीले आफ्ना दलीय उम्मेदवारका लागि मत मागिरहेका छन्।

सोमबार बिहान उनीहरू डडेल्धुरा प्रदेश ‘ख’ का बाम काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरासँगै अमरगढी–५ झुरकालीमा मतदातासँग मत माग्न पुगेको एक स्थानीयले बताए। नेपाली काँग्रेस अजयमेरु गाउँपालिकाका सभापति टेकराज पाण्डेयले पनि सामाजिक सञ्चालमा मतदातासँग भेटघाट भन्दै मेयर जोशीलगाएतका जनप्रतिनिधिको तस्वीर राखेका छन्।

तर, यता अमरगढी नगरपालिकाका नगरप्रमुख जोशीले आफूले आमसभामा गरेर मत नमागेको बतए। उनले आफू नेपाली काँग्रेसको उपसभापति भएको कारण मत माग्ने गरेको तर, अमासभामा गएर मत नमागेको जिकीर गरे।

‘मैले मत मागेको छैन्। अरू कार्यक्रममा गएको हुँ। अरू कार्यक्रम पनि त हुन्छन्,’ उनले भने, ‘सबै कुरा मत माग्ने मात्रै हुन्छ। के त मैले घरमा बसिराख्नु प¥यो। कार्यक्रम त अरू पनि हुन्छन् नि।’

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रमा मत माग्न नपाइने निर्वाचन आयोगको आचारसंहिता प्रष्ट पारेको बताए।

आचारसंहिता सबैले पालना गर्नुपर्छ। आफ्नो क्षेत्रभित्र जनप्रतिनिधिले मत माग्न नपाइने भनिएकै छ। उहाँहरूको आचारसंहिता पालना गर्नु पहिलो दायित्व हो,’ उनले भने, ‘आचारसंहिताको पालना नगरेको भन्ने उजुरी आएको खण्डमा हामी छानबिन गछौं।’

सम्बन्धित पाेष्टहरु
Loading...