डडेल्धुरा: ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’को सुरु भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार’ भन्ने मुल नारासहित बिहीबारदेखि अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सव सुरु भएको हो।
महोत्सवको बिहीबार दिउँसो एक भव्य कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवाले उद्घाटन गरिन्।
महोत्सवको उद्घाटन गर्दै सांसदले राणाले डडेल्धुराको समग्र विकास आफू लागिपर्ने बताइन्। यहाँको विकासको लागि लागि स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताइन्।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, संविधानसभा सदस्य ज्ञानु गैरे, प्रदेशसभा सदस्यद्वय डा ताराप्रसाद जोशी र सरस्वती खड्कालगायतको उपस्थिति रहेको थियो।
यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गरिएको डडेल्धुरा उद्योग वाणिज्यका अध्यक्ष द्विजराज भट्टले बताए। उनले डडेल्धुराको विकासका लागि मेडिकल कलेज, विमानस्थल, सडक विस्तारलगायतका योजना शीघ्र अगाडि बढ्नुपर्नेमा जोड दिए।
उद्घाटन कार्यक्रममा संस्कृति झाँकीसहित विभिन्न विद्यालयको नृत्य प्रस्तुत गरिएको थियो। महोत्सवका आकर्षणहरूमा स्थानीय लोपउन्मुख कला, संस्कृति भेषभूषा, खेलकुद एवं पुरातात्विक क्षेत्रको प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमसहित मनोरञ्जन, स्थानीय लधु, घरेलु,उद्योग एवं उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी रहेको छन्।
महोत्सवमा सर्वसाधारणका लागि ७५ विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। विद्यालय तथा क्याम्पसका विद्यार्थी विद्यालयको पत्रसहित टोलीमा आए १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेश तथा ७५ वर्षभन्दा माथिका उमेरका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ।
महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। एक लाख ५० हजार मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सव फागुन १४ गतेसम्म संचालन हुनेछ। उद्योग वाणिज्य संघले महोत्सव सम्पन्न गर्न ७२ लाख रुयैयाँ खर्च हने अनुमान गरेको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले यसअघि विं.स. २०६५, २०७२, २०७३ र २०७६ सालमा महोत्सव आयोजना गरेको थियो।