Radio Unity 92.2MHz

अमरगढी–४ को किर्ते काण्ड : गल्ती ढाकछोप गर्न यस्तोसम्म गरिँदै

डडेल्धुरा : अमरगढी नगरपालिका–४ मा आर्थिक वर्ष २०७९/०८० अन्तर्गत विपद् व्यवस्थापनको शिर्षकमा रहेको ६५ हजार २४९ रकम विनियोजन गर्‍यो। तर, विपद् व्यवस्थापन त्यो पैसा खर्च गरिएन्। बरु विभिन्न शिर्षकबाट रकमान्तर गरी दुई लाख बढी वडाअध्यक्ष प्रमानन्द शाहु र वडा सचिव केशवराज ओझाले खाइदिए। वडाका ३६ जना स्थानीयको नाममा वडाअध्यक्ष र वडा सचिवले नै किर्ते हस्ताक्षर गरे।

किर्ते काण्डको तथ्य बाहिरीएपछि वडाअध्यक्ष शाहुलाई बचाउन अमरगढीका मेयर डिल्लीराज जोशी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय लगाएतका अन्य केही व्यक्ति मिलेर घटना मिलाउन लागि रहेको तथ्य समेत बाहिरीएको छ।

त्यति मात्रै होइन्, घटना मिलाउन प्रशासनमा उजुरी दिने स्थानीयको आर्थिक अवस्था हेरेर पैसा बाँडेको र गाउँगाउँमा गएर नयाँ भरपाइ बनाइ हस्ताक्षर गर्न लगाउने तथा त्रिपाल मिल्ने भन्दै मिति नै नभएको चिट समेत बाँडिरहेका तथ्य बाहिरीएको छ।

वडाअध्यक्ष शाहुले गल्ती भइसक्यो बचाइदिनु पर्‍यो भनेर माफि मागेपछि प्रशासनमा दिएको उजुरी फिर्ता लिएको स्थानीय नारुदेवी आलेले बताइन्।

‘पाँच हजार वडामा दिएन्। बाहिर नै दिएको हो। वडामा दिने कुरा होनी। मुद्दा मिलाइदिनु गल्ती भइसक्यो अब तपाईं पनि हामी पनि पार पाउँछौं भनेर दिएका हुन्,’ उनले भनिन्, ‘गाडि लगेर घरमै वडाअध्यक्ष, सचिव र नगरपालिकाका सबै गएका हुन्। उक्त पाँच हजार रूपैयाँ आज  वडाअध्यक्ष शाहुलाई फिर्ता गरिदिए।’

युनिटी खबरले वडा कार्यालयमा पुग्दा वडाअध्यक्ष शाहुले भने वडामा आर्थिक अनियमितता नभएको जिकीर गरे। तर, उनले विपद् व्यवस्थापनका लागि भएको खर्च, बिल भौचर तथा अन्य कुनै पनि दस्तावेज वडा कार्यालयमा हामीलाई देखाउन सकेनन्।

‘विपद्को रकमबाट ग्याभिन जाली चार जनाले बुझेका छन्। बाँकी ३६/३७ जनाको जो लिष्ट छ। उनीहरूको पैसा नगरपालिकामा सुरक्षित छ। यो घटनालाई बाहिर अतिरञ्जित गर्न खोजिएको छ,’ उनले भने, ‘किर्ते हस्ताक्षर बारे हामी पनि बुझ्दै छौं।’

आर्थिक वर्ष २०७९/०८० अन्तर्गतको कार्यक्रम ०८० को असारमै सम्पन्न गर्नु पर्ने हो। तर, आर्थिक अनियमितताको कुरा बाहिरीएपछि वडाअध्यक्ष गाउँगाउँमा पुगेर नयाँ भरपाइ बनाइरहेको स्थानीय पवन बिष्ट बताउनुहुन्छ। उनी भन्छन्, ‘वडामा कागजात नभएपछि अब नगरपालिकामा भएको कागजातसँग साट्न नयाँ तयार पारिदै छ।’

भरपाइमा नाम भएका स्थानीयलाई घरमै पुगि वडाअध्यक्ष बैजनाथ हार्डवयर सेन्टर तुफान्डाँडाबाट त्रिपाल मिल्ने भन्दै मिति नै नभएको चिट समेत बाँडिरहेका छन्। शुक्रबार घरमै पुगेर वडाअध्यक्षले नै चिट दिएको नारुदेवीले बताइन्।

तर, वडाअध्यक्ष शाहुले भने आफूले मिति नै नभएको चिट नदिएको र पहिल्यै दिएको हुन सक्ने बताए। उनी भन्छन्, ‘घटना अतिरञ्जित पारिएको हो। चिटमा मिति भएको भए पो  मैले यति गते दिएको भनेर भन्थे।’

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले पैसा बाँडेको बारे आफूलाई जानकारी नभएको बताए। ‘पहिले असारमै काम भइसकेको हो। त्यसको री भिजिटका लागी भनेको छ। अख्तियारमा पनि उजुरी परिसकेको जानकारी पाएको छु,’ उनले भने, ‘यस विषयमा हामी बुझ्दै छौं। सुने अनुसार त्यस्तो छैन होला।’ सत्यतथ्य दिने बताउँदै उनले पत्रकारलाई धेरै नआत्तिन आग्रह गरे।

यो पनि पढ्नुहोस् :

अमरगढी–४ को किर्ते काण्डमा नयाँ ट्वीस्ट : आर्थिक प्रलोभनमा हस्ताक्षरलाई आफ्नै भन्न लगाउँदै मेयर र हाकिम!

अमरगढीमा वडाअध्यक्ष र वडासचिवको किर्ते हस्ताक्षर : मेयर भन्छन्– बुझ्दै छु

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।