डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा सञ्चालन त्रिदिवसीय ‘आलिताल बृहत् सरसफाइ अभियान’ सम्पन्न भएको छ। रणबम गण दह ब्यारेक डडेल्धुरा र आलिताल गाउँपालिकाको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको ताल सरसफाइ अभियान सोमबार समापन भएको हो।
ताल सरसफाइ अभियनअन्तर्गत सोमबार अर्थात् अन्तिम दिन स्थानीबासी, सामुदयिक वनका पदाधिकारी, आलिताल–३ चौडस्थित स्यालचौडी मावि, आलिताल–५ भित्रीसैनको सरस्वती माविका विद्याथी, एमालेनिकट अनेरास्ववियु, नेपाल मगर संघ डडेल्धुराले संयुक्त रूपमा तालको सरसफाइ गरे।
सोमबार एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पठानसिंह बोहरा, राष्ट्रियसभाका पूर्वसदस्य चक्रप्रसाद स्नेहीलगायतको पनि सहभागिता रहेको थियो।
सरसफाइ अभियनको दोस्रो दिन आइतबार दुर्गा माविका विद्यार्थी, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, संघसंस्थलगायतले ताल सरसफाइको काम गरेका थिए।
सरसफाइको पहिलो दिन शनिबार नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासी, जनप्रनिधि, सरोकारवाला निकाय, राजनीतिक दल, राजनितिक दलका भातृसंगठन, विभिन्न संघसंस्था, जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरू उपस्थित थिए।
ताल वरपर रहेका झाँडी तथा ताल वरपर रहेको अवरुद्ध फुटपाथ पनि सफा गरिएको छ। बृहत् सरसफाइ अभियानपछि अहिले ताल वरपर सफासुग्घर भएको छ।
सरसफाइ अभियनको समापनमा ताल संरक्षणका लागि जनप्रतिनिधिहरूले एकमत राखेका छन्। ताललाई जसरी भएपनि राजनीतिक पूर्वाग्रह बिना प्रमुख गन्तव्य स्थल बनाउनुपर्नेमा जनप्रतिनिधिहरूको जोड थियो।
समापन कार्यक्रममा आयोजक आलिताल गाउँपालिकाले ताल सरसफाइमा सहभागी भएका सबैलाई धन्यवाद व्यक्त गरेको थियो। समापन कार्यक्रमकी प्रमुख अथिति जिल्ला समन्वय समितिकी उपप्रमुख अनिता रानामगरले आलितालको संरक्षण र प्रचारप्रसारको लागि आफू जोडबलले लागिरहने बताइन्।
कार्यक्रममा आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले आलितालको संरक्षणका निमित्त सबै राजनीतिक दल तथा सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए। ताल सरसफाइ अभियानले सबै आम जनसामुदयलगायत सबैलाई ‘आलिताल बनाउनुपर्छ’ भन्ने चासो बढेको उनको भनाइ थियो। आलिताललाई पर्यटकीय हिसाबले मुख्य गन्तव्य बनाउने उद्देश्यका साथ आफूहरूले काम गरिरहेको बताए।
आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैनाकुमारी रावल बोहराले आलितालको संरक्षण र प्रचारप्रसारका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताइन्। उनले आलिताल सबैको साझा सम्पत्ति भएकाले यस तालको अपनत्व पनि सबैले ग्रहण गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा गाउँपालिकाकी निवर्तवान उपाध्यक्ष जलाकुमारी विष्ट बोगटीले आलितालको प्रचारप्रसारका आफूलगायत आफ्नो पार्टीले स्थानीय सरकारलाई सहयोग गर्न तयार रहेको बताइन्।
आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो। समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ।
एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ। तालमा अहिले फुटपाथ, आरामघर, पिकनिक स्पोट, भ्यू टावर जस्ता संरचना बनेका छन्।
सम्बन्धित समाचारहरू :
अनेरास्ववियुका विद्यार्थीले गरे आलिताल परिसरमा सरसफाइ
आलिताल बृहत् सरसफाइ अभियान स् दोस्रो दिन दुर्गा माविका विद्यार्थीले गरे सफाइ
आलितालको बृहत् सरसफाइ सुरु, संरक्षणमा प्रदेश र संघले सहयोग नगरेको गुनासो