डडेल्धुरा : परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वर नमूना माविको हाता भित्र कटान गरिएको रूखको काठ लुकाइएको छ। गत माघ ३ गते डिभिजन वन कार्यालय डडेल्धुराको अनुमति बिना काटिएको रूख वनकै मिलेमतोमा लुकाइएको हो।
भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरि लुकाइएको स्थानीयको भनाइ छ। विद्यालय परिसरमा रूख कटान गरेका ठूटा समेत डोजर प्रयोग गरेर माटोले पुरीएको छ।
आठ÷दश रूख कटान भएको देखाउनको लागि मात्रै रूखका ठूटा छोडिएको छ। रूख कटान भएको तीन दिनपछि मात्रै प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको डिभिजन वनले आठ वटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको रिपोर्ट सार्वजनिक गरेको छ।
तर, त्यस क्षेत्रका स्थानीय भने डिभिजन वनले गलत रिपोर्ट सार्वजनिक गरेको बताउँछन्। विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको भए पनि अनुसन्धानको रिपोर्टमै नभएको विद्यालय व्यवस्थापन समिती सदस्य केशव नाथ बताउँछन्।
उनले विद्यालय व्यस्थापन समितीमा समेत कुनै निर्णय नै नगरि रूख कटान गरि लुकाइएको बताए। ‘यहाँ सय भन्दा बढी सिसम, हल्दु, साल र खयरका रूख थिए। तर, आज छैनन्। रूख कटान भएको थाहा पाएपछि दोस्रो दिन वनको टोली यहाँ आएको थियो। साँझ डोजर चलेर सबै लुकाइयो,’ उनले भने।
ईलाका वन कार्यालयलाई जानकारी गराएको र रेञ्जर विद्यालयमा पुग्दा समेत जानकारी गराई रूख कटान गरिएको विद्यालयका प्रध्यानाध्यापक डम्बर थ्वालले बताए। ‘वडा अध्यक्ष मिनबहादुर चन्दको अध्यक्षतामा बैठक बसि रूख कटान गर्ने र कटान गरेका रूख व्यवस्थापन गर्ने जिम्मा पनि उनलाई नै दिइएको थियो। वनले भने रूख कटानको आदेश दिएको थिएन्,’ उनले भने।
डोजर प्रयोग गरि लुकाइएको काठ वनकै साठगाँठमा अन्यत्र सारीएको आशंका स्थानीयको छ। आफ्नै हातले साल र खयरका रूख रोपेको केसी नाथ बताउँछन्। उनी भन्छन्, ‘यसमा वनको मिलेमतो छ। नत्र अबैध रूपमा किन रूख काटिए?’
अवैध रुख कटान गरि बिक्रि समेत गरिएको गुनासो आए पछि वन कार्यालयले अनुसन्धान गरेको थियो। तर, रूख कटानमा संलग्न भएका भनिएका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई अनुसन्धान अधिकृत तोकि अनुसन्धान गरिएपछि स्थानीय झन् आक्रोशित भएका छन्।
कटान गरिएको काठको परिणाम सिसम ४५ क्युफिट र बाँकी हल्दु गरी १८८.८० क्युफिट रहेको भट्टले बताएका थिए। अहिले विद्यालय हाता भित्र उक्त काठ पनि छैन। अनुसन्धान पछि रातभरी डोजर प्रयोग गरी काठ लुकाइएको विद्यालय व्यवस्थापन समिती सदस्य नाथको भनाइ छ।
प्रध्यानाध्यापक डम्बर थ्वाल, विद्यालय व्यवस्थापन समिती अध्यक्ष खड्का बोहरालाई मंगलबार वन कार्यालयले नियन्त्रणमा लिएको थियो।
अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेश गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएपछि दुबै जनालाई चार जनाको जिम्मा जमानीमा छोडिएको छ।
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई चार जनाको जिम्मा जमानीमा छोडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले बताए।
‘प्रारम्भिक रिपोर्ट अनुसार मुद्दा अगाडि बढाएका थियौं। अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेश गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई छोडिएको छ,’ उनले भने।
उनीहरूको सम्पर्कमा आएका कर्मचारी होम आइसोलेसनमा बसेको डिभिजन वन कार्यालयका प्रमुख रामबिचारी ठाकुरले बताए।
अझैं काठ लुकाइएको छ नी? भन्ने प्रश्नमा युनिटी खबरसँग कुरा गर्दै उनले भने, ‘हाम्रो अनुसन्धान अधिकृत कोरोना पोजेटिभ भएर आइसोलेसनमा हुनुहुन्छ। थप विवरण आएको छैन्। काठको ठूटा नापेरै भएपनि एकिन् परिणाम निस्किन्छ।’
यो पनि हेर्नूहोस् :
अवैध रूख कटानमा संलग्न प्रधानाध्यापक र अध्यक्षलाई जमानीमा छाडियो
डिभिजन वन कार्यालय डडेल्धुराको मिलेमतोमा अबैध रूपमा सिसम कटान
अबैध रूख कटान : प्रधानाध्यापक र अध्यक्षलाई डिभीजन वन कार्यालयमा ल्याइयो