Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालको सेवाप्रति गुनासैगुनासा

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पतालप्रति गुनासा बढेका छन्। जिल्लास्थित सरोकारवालाहरूले अस्पतालले प्रदान गर्ने सेवाहरूप्रति गुनासो व्यक्त गरेका हुन्।

शनिबार अस्पतालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाहरूले अस्पतालसँग गुनासाहरू पोखेका हुन्। उनीहरूले अस्पतालमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीप्रति गर्ने व्यवहार नराम्रो नभएको गुनासो गरेका छन्।

कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहले कर्मचारी र चिकित्सक हरूको व्यवहार नै रिसालु स्वभावको रहेको गुनासो व्यक्त गरे। उनले अस्पताल विकास समितिले कर्मचारी व्यवस्थापन र स्वभाव सुधारमा ध्यान दिनुपर्ने सुभावसमेत दिए। यसका साथै उनले कम्तिमा पनि तीन–तीन महिनामा आफूले गरेका कामको सार्वजनिकीकरण गर्न आग्रह गरे।

उनले भने, ‘कर्मचारी र चिकित्सकको व्यवहारमा परिवर्तन ल्याउन उहाँहरूलाई त्यसै किसिमको तालिम प्रदान गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘त्यसतर्फ अस्पताल प्रशासनले ध्यान दिनुपर्छ।’

नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले आफ्ना मान्छेहरूलाई छिटोछरितो सेवा दिने तर टाढाबाट आएका नागरिकले समयमै उपाचारसमेत नपाउने गरेको आरोप लगाए। अस्पतालले बढी शुल्कसमेत लिने गरेको उनको भनाइ छ। सुदूरपश्चिमका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर अस्पतालले सेवा प्रवाह गरिरहेको छ। तर, अस्पतालको सेवाप्रति भने यहाँ सरोकारवाला र सेवाग्राहीहरू सन्तुष्ट छैनन्।

अमरगढी नगरपालिकाका उपप्रमुख पार्वती झुकालले अस्पतालमा कार्यरत कार्यालय सहयोगीहरूले सेवाग्राहीलाई कोठा नम्बरसमेत बताइनदिने, सेवाग्राहीलाई नटेर्नेलगायतका गुनासो कार्यक्रममा पोखिन्। आफू पटक–पटक अस्पताल आइरहने उल्लेख गर्दै अस्पतालको सेवाप्रति आफू त्यति अन्तुष्ट नरहेको बताइन्। उनले आगामी दिनमा यी कमीकमजोरीहरू सच्याउँदै अगाडि बढ्न अस्पताल व्यवस्थापनलाई सझाव दिइन्।

सेवाग्राहीका गुनासाहरूलाई सम्बोधन गर्दै अस्पताललाई नमुना बनाउनुपर्नेमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जोड दिए। आफूकहाँ पनि अस्पतालको सेवाका बारेमा बेलाबेलामा गुनासा आउने गरेको उल्लेख गर्दै प्रजिअ जोशीले सुधारमा सबैले ध्यान दिनुपर्ने औंल्याए।

जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले कर्मचारीको व्यवहार र अस्पतालको सेवा सुधारमा अस्पताल प्रशासन र व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताए। उनले अस्तापलको विकास र विस्तारका लागि आफ्नो ठाउँबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझाले आएका महत्वपूर्ण सुझावहरूलाई आत्मसाथ गर्दै आगिड बढ्ने प्रतिबद्धता जनाए। उनले आफू अस्पतालको सेवा सुधारमा अनवरत रूपमा लागिरहेको पनि बताए।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चेतराज भट्टले कर्मचारी र चिकित्सकको व्यवहार सुधारका लागि तालिमको व्यवस्था गरिने जानकारी दिए।

यसका साथै उनले पहिलेको भन्दा केही परिवर्तन आएको र थप सुधार गर्दै लैजाने उनले बताए। ‘महत्वपूर्ण सझावहरू हामीले पायौं। आगामी दिनमा हामी सुधार गर्दै जान्छौं,’ उनले भने।

यो पनि पढ्नुहोस्ः डडेल्धुरा अस्पतालबाट एकवर्षमा ३४ हजारले लिए ओपिडी सेवा

सम्बन्धित पाेष्टहरु
Loading...