Radio Unity 92.2MHz

‘नो इलेक्ट्रिसिटी, नो भोट’ अभियान : एमाले उम्मेदवारलाई बीच बाटोबाटै फर्काइयो !

डडेल्धुराः गाउँमा बिजुली नपुर्‍याएको भन्दै डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चामाका स्थानीयले मत माग्न गाउँ पुगेका एमालेका उम्मेदवारलाई बीच बाटो बाटै फर्काइदिएका छन्।

शनिबार चामा गाउँ पुगेका डडेल्धुरा प्रदेश ‘ख’ का उम्मेदवार गजेन्द्र शाहीलगायतको टिमलाई फिर्ता पठाएको स्थानीय सुरेन्द्र बिष्टले बताए। उनका अनुसार गाउँ पुग्न १०/१५ मिनेट लाग्ने ठाउँबाट एमालेका उम्मेदवारलाई फिर्ता पठाइएको हो।

सञ्चार माध्यममा ‘नो इलेक्ट्रिसिटी नो भोट’ भन्ने समाचार प्रशारण तथा प्रकाशित भएपछि शाहीको टिम आएको तर, बिजुली नपुगाउँदासम्म गाउँ प्रवेश गर्न नदिने भन्दै फिर्ता पठाएको उनले बताए।

शाहीले यस पटक आफूलाई विजयी गराए गाउँमा बिजुली पुर्‍याइदिने आश्वासन दिएको र स्थानीयको समस्या टिपोट गरेर लगेको उनको भनाइ छ। गाउँमा बिजुली नपुग्दासम्म कुनै पनि उम्मेदवारलाई गाउँ पस्न नदिने अठोट स्थानीयले गरेकोले कसैलाई पस्न नदिने स्थानीय किशोर बिष्टले बताए।

यो पनि पढ्नुहोस् : चामाबासी भन्छन्ः ‘नो इलेक्ट्रिसिटी नो भोट’

सम्बन्धित पाेष्टहरु
Loading...